काठमाडौं -एनआइसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एप मार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ।
उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
अलिपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आवद्ध रहेका छन्।
यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरूले अलिपे प्लस नेटवर्कमा जोडिएका मुलुकहरूका पर्यटकहरूले नेपालपे क्युआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन्।
बैंक र एनसिएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तर्देशीय क्युआर भुक्तानीमा समेत प्रवर्द्धन गरी नेपालमा आउने पर्यटकहरूका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij