झापा- “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” ।
देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उनले हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका छन् । तर यहाँसम्म आइपुग्न उनले गरेको सङ्घर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए ।
विगत सम्झना गर्दै उनले भने, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।
मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन । सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला ? सफल भइएन भने पुनःविदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो । अन्ततः उनलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले भन्नुभयो, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”
मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गर्नुभयो । सुरुमा सानो क्षेत्रफलमा केही तरकारी लगाएका उनको मेहनतले हाल चार विघाहभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको छ । हाल उनको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ । फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर र माछापालन गरेका छन् ।
उनले बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिन्छन् “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ”, उनी भन्छन्, “त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ ।”
देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउछन् । उनले भने, “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन् ।” उनको सफलताको अर्काे पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनु । अहिले उनको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् । तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन् । “सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उनले भने, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्”।
फार्म सञ्चालन बापत् खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उनी बताउछन् । “मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ,” उनले भने, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ ।” उनले मलेसियामा पनि मेहनत गर्थे । तर, त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उनको बुझाइ छ ।
देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन् । उनले भने, “मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो ।” यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिने उनले बताए ।
कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उनी स्पष्ट छन्, “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ,” देउकुमार भने “यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ ।”
देउकुमार युवापुस्तालाई आग्रह गर्छन, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ ।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij