२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१० महिनामा पौने १४ खर्ब ७४ अर्बको आयात, दुई खर्ब १७ अर्बको निर्यात

१० महिनामा पौने १४ खर्ब ७४ अर्बको आयात, दुई खर्ब १७ अर्बको निर्यात

705
Shares

काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म नेपालमा पौने १५ खर्बको वस्तु आयात भएको छ। बुधवार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

साथै, समीक्षा अवधिमा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको थियो । नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि हुन पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ। समीक्षा अवधिमा नेपालमा एक खर्ब दुई अर्ब ३८ करोड ९७ लाख ७५ रुपैयाँ बराबरको डिजेल आयात भएको विभागले जनाएको छ ।

साथै, दोस्रो धेरै मूल्य बराबरको आयातमा ८१ अर्ब ८९ करोड ६३ लाख आठ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ र तेस्रो धेरै मूल्य बराबरको आयातमा ५३ अर्ब पाँच करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको पेट्रोल रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको निर्यात हुने पहिलो वस्तुमा सोयाबिन तेल र त्यसको कच्चा पदार्थ रहेको छ । १० महिना अवधिमा नेपालबाट ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसको कच्चापदार्थ निर्यात भएको विभागले जनाएको छ ।

नेपालबाट यस अवधिमा १० अर्ब नौ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको कच्चापदार्थ र आठ अर्ब ८४ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij