काठमाडौं – चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा देशको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
आज भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।
यो वर्षको १० महिनामा आयात र निर्यात दुबैमा वृद्धि देखिएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत रहेको छ भने निर्यात १२.८८ प्रतिशत मात्र रहेको विभागले जनाएको छ।
साथै, १० महिनाको अवधिमा देशको व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको छ। वैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब ७ करोड १८ लाख रुपैयाँभन्दा धेरै हो।
विभागका अनुसार चालु वर्षको वैशाख मसान्तसम्म १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको तुलनामा १३.११ प्रतिशतले बढी हो। उता, निर्यातमा झनै ठुलो वृद्धि देखिएको छ। यस वर्ष वैशाख मसान्तसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij