२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै

सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै

1.4K
Shares

काठमाडौं – सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस अघि कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५८ हजार २०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो।

कम्पनीले निष्काशन गरेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रबर्धन गरिरहेको ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख ५२ हजार ५४४ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ६७ हजार ४४० रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २३ वर्ष १ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.२९ वर्ष रहेको छ।

त्यसैगरी, निर्माणाधिन ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ९१ लाख १३ हजार ५४४ रुपैयाँ रहेको छ भने अनुमानित प्रतिमेगावाट लागत १९ करोड ४० लाख ६० हजार १९२ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij