काठमाडौं – नेपाल राष्ट्र बैंकले सुनको कारोबार गर्ने व्यवसायीहरुलाई वाणिज्य बैंकबाट सुन खरिद गर्दा सिफारिस दिने क्रममा संघ तथा महासंघले शुल्क लिन नपाउने व्यवस्था स्मरण गराएको छ । राष्ट्र बैंकले सूचना प्रकाशित गरेरै संघ महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको स्मरण गराउँदै यो व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।
‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ को दफा १४ मा आधारित रही राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो सिफारिस दस्तुर असुल्न नपाइने नियमको पालना गर्न आग्रह गरेको हो।
सूचनामा उल्लेख गरिएको छ कि सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीहरूलाई सिफारिस गर्दा कुनै शुल्क लिनु अवैधानिक ठहरिनेछ।
राष्ट्र बैंकले सो व्यवस्थाको उल्लंघन भएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र कार्यविधिको प्रावधान अनुसार कानुनी कारबाही हुने स्पष्ट पारेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij