२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

770
Shares

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । बैंकले कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरिएको जनाएको छ । बैंकले बिहिबार कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक कार्यक्रमका बीच अल मुजैनी एक्सचेन्जसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

बैंकका अध्यक्ष रोशन केसी उपस्थित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवम् मुजैनी एक्चेन्जका महाप्रवन्धक ह्युग फर्नान्डिजले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यबाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा लगायत गैर आवासीय संघका प्रतिनिधि, कुवेत स्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा त्यहाँ कार्यरत थुप्रै नेपालीहरूको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकको कभर गीत सार्वजनिक गरिएको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलद्वारा रचित गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी र राजदूत सुजनी राणाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

कुवेतमा रहेका नेपालीहरूले अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम अब माछापुच्छ्रे बैंकको नेपालमा रहेका १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टरबाट मात्र नभई २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत् सजिलै भुक्तानी लिन सकिनेछ । बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।

नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले देशभर १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टरबाट सेवा दिइरहेको छ । कुल २७५ स्थानमा उसको सेवा सञ्जाल रहेको छ । यस्तै उसका देशभर २०४ वटा एटीएम बुथ छन् । बैंकले १७ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij