२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

605
Shares

कञ्चनपुर- भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताउनुभयो । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उनले भने, “पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उहाँले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको बताए।

“नेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ आउने गरेका छन्”, औलो निरीक्षक भट्टले भने, “भारतबाट आउने र शान्ति सेनामा गएर फर्किएकाहरूमा औलो देखिने गरेको छ ।” उनका अनुसार पश्चिमीनाका गड्डाचौकीमा रहेको हेल्थडेस्कमा औलो परीक्षण हुने गरेको छ । त्यसैगरी सबै ज्वरो आएका बिरामीको समेत सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने गरेको उहाँले जानकारी दिए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८/७९ मा २९ हजार ४९२ जनाको परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण देखिएको थियो । जसमा पाँच जनामा स्थानीय र ३० जनामा आयातित औलोको सङ्क्रमण देखिएको औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३० हजार ३६२ जनामा औलो परीक्षण गरिएको थियो । जसमा २८ जनामा औलो सङ्क्रमण देखिएकामा २३ जनामा आयातित औलो देखिएको थियो ।

त्यसैगरी आव २०८०/८१ मा १६ हजार ४६३ जनामा औलो परीक्षण गरिएको थियो । जसमा भारतबाट फर्किएका २५ जनामा सङ्क्रमण देखिएको थियो । आव २०८१/८२ को चैत्रसम्म ११ हजार २८९ जनामा परीक्षण गरिएकामा ३५ जनामा औलो सङ्क्रमण देखिएको छ । जसमा ३२ जनामा आयातित र तीन जनामा स्थानीय औलोको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार रोजगारीका लागि भारत जानेहरू न्यून स्तरको काम गर्ने र त्यहाँ औलो सङ्क्रमण भएपछि उपचार नगरी नेपाल आउने गरेका कारण आयातित औलोको सङ्क्रमण बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij