२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु

635
Shares

गाजाको केन्द्रीय सहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता महमूद बसालले जानकारी दिँदै भन्नुभयो,“ एक सवारीसाधनमा गरिएका आक्रमणमा सात जनाको मृत्यु भएको छ, जसमा छ जना एउटै परिवारका थिए । घाइते भएकाहरूलाई डिर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा उपचारका लागि लगिएको छ ।”

प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली विमानले सवारीसाधनमा मिसाइल प्रहार गर्दा गाडीमा आगलागी भएको थियो ।

यस घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यस्तै, डिर अल–बलाह नगरपालिकाको भवनमा गरिएको अर्को हवाई आक्रमणमा थप तीन जनाको ज्यान गएको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले यो आक्रमण पुष्टि गरेको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले भन्नुभयो,“ हमासको कमाण्ड केन्द्र लक्षित गरी आक्रमण गरिएको हो, जहाँ हमासका धेरै सदस्यहरू उपस्थित थिए ।”

स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ देखि इजरायलले पुनः सैन्य कारवाही सुरु गरेयता गाजामा एक हजार ५७४ जनाको मृत्यु भइसकेको छ भने चार हजार ११५ जना घाइते भएका छन् ।

गाजामा द्वन्द्व सुरु भएको सन् २०२३ अक्टोबर ७ यता हालसम्म ५० हजार ९४४ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने एक लाख १६ हजार १५६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij