२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ

पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ

705
Shares
पोखराबाट छेन्दुतर्फ प्रस्थान गर्दै सिचुवान पोखरा, ५ चैतः एक सय २७ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु तर्फ प्रस्थान गर्दै सिचुवान एयरलाइन्सको विमान । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा चीनको छेन्दुबाट उक्त विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको हो । तस्बिरः युनिश गुरुङ÷रासस

कास्की- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावनालाई बढाएको बताए ।

पहिलो अन्तरराष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङ्छिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई अझै उजागर गरेको बताउँदै उहाँले सिचुवान एयरलायन्सको विश्वका धेरै देशमा रहेको सञ्जालको उपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

चीनले माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएको जनाउँदै महानगरप्रमुख आचार्यले त्यसले यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानका क्रममा नेपाल पर्यटन बोर्डले छेन्दु र छोङ्छिङमा आयोजना गरेको बिटुबी तथा सेल्स मिसनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा-चीनको सम्बन्धलाई थप उजागर गरेको बताउँदै उडानको निरन्तरताका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्नेमा जोड दिए ।

परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमले चीनका विभिन्न सहरसँग पोखराको सम्बन्धलाई प्रगाढ बनाएको धारणा राखे ।

कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत पक्षलाई अनुकरण गर्नु आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij