२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

885
Shares

गण्डकी- गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बिमित हुनेको सङ्ख्या १२ लाख सात हजार १७२ पुगेको जानकारी दिइएको हो ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको सङ्ख्या सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आमसर्वसाधारणलाई बिमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गरे । विश्वव्यापी रूपमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै अघि बढेको उल्लेख गर्दै उहाँले नेपालमा पनि यसलाई समयसापेक्ष सुधार गर्दै लगिएको जानकारी दिए ।

नेपालमा स्वास्थ्य बिमाप्रति सकारात्मकभन्दा पनि नकारात्मक प्रचार गर्ने प्रवृत्ति कायम रहेको बताउँदै संयोजक खेरलले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवं गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य–सचिव डा रमेश केसीले विश्वमा १४२ वर्षअघिदेखि सुरु भएको स्वास्थ्य बिमा नेपालमा नौ वर्षयता सञ्चालनमा रहेको जानकारी दिए । शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बिमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक रहेको बताउँदै उहाँले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उपचारमा आमसर्वसाधारणको सहज पहुँच पुर्‍याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विद्या बास्तोला, दृष्टि आई अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारीहरू गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी, गौतमसिंह धामीलगायतले स्वास्थ्य बिमाको विद्यमान अवस्था, चुनौतीलगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij