२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काभ्रेपलाञ्चोकमा २३ प्रतिशत खानेपानी दूषित

काभ्रेपलाञ्चोकमा २३ प्रतिशत खानेपानी दूषित

785
Shares

काभ्रेपलाञ्चोक – यहाँको २३ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नमूनाका ८८ स्थानबाट सङ्कलित खानेपानी परीक्षण गर्दा २३ प्रतिशत खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो ।

जिल्लाका १३ स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी आयोजनाका ८८ स्थानको पानी परीक्षण गर्दा २० स्थानको दूषित भएको पुष्टि भएको कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठले बताएयो । उनका अनुसार स्थानीय तहका विभिन्न उपभोक्ता समिति, खानेपानी संस्थान तथा अन्य स्रोतको पानी परीक्षण गरिएको हो । कार्यालयले नियमित खानेपानी परीक्षण गरिरहेको बताउँदै श्रेष्ठले प्रदूषित पानीमा दिशाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको जानकारी दिए ।

जिल्लाका स्थानीय तहमा गरिएका अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ, कतिपय स्थानमा निजी रुपमा वितरित खानेपानीमा कीटाणु भेटिएको श्रेष्ठले बताए । उनले भने, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा नराम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको पनि हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।”

कार्यालयको प्रयोगशालमा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत नेपाली सेनाको गुल्म तथा ब्यारेक, नेपाल प्रहरी तथा स्थानीयको निजी इनारको पानी परीक्षण गरिन्छ । उक्त प्रयोगशालाको परीक्षणबाट दूषित पुष्टि भएको खानेपानीको स्रोतमा उपचारका विधि अपनाउन लगाइएको ल्याब टेक्निसियन निरीक्षक भोलानाथ पौडेलले बताएयो ।

कार्यालयले खानेपानीका स्रोत दूषित हुने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ । “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ भन्ने सन्देश दिइरहेका छौँ,” श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार दूषित पानीका कारण सबै उमेर समूहका व्यक्तिलाई हैजा हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो ।

स्थानीयस्तरमा पानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर जाने योजना बनाइएको श्रेष्ठले बताउनुभयो । यस्तै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij