२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिदिममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

फिदिममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

880
Shares
पाँचथर – फिदिममा हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल अपाङ्ग सङ्घ–नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र स्विट्जरल्यान्डका डा डिटमार माउरको समूह, फिदिम नगरपालिका र जिल्ला अस्पताल पाँचथरको सहकार्यमा शिविर सञ्चालन भएको हो ।
जिल्ला अस्पताल पाँचथरको आयोजनामा सञ्चालन भएको पाँचदिने निःशुल्क स्वास्थ्य शिविरको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले आज उद्घाटन गर्नुभयो ।
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा हाडजोर्नी तथा नसा रोगको शल्यक्रिया सेवा प्रदान गरिने नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले जानकारी दिनुभयो । निर्देशक डा भण्डारीका अनुसार शिबिरमा हड्डी तथा जोर्नीसम्बन्धी समस्या भएका बिरामीको उपचारसहित आवश्यक परेमा शल्यक्रिया तथा औषधि वितरणको व्यवस्था मिलाइएको छ ।
        नेपाल अर्थोपेडिक अस्पतालले विभिन्न निकायहरुसँगको समन्वय र साझेदारीमा यस प्रकारका शिविर आयोजना गर्दै आएको निर्देशक डा भण्डारीले जानकारी दिनुभयो । विशेषतः गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका र कमजोर आर्थिक अवस्थाका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।
नेपाल अर्थोपेडिक अस्पतालले १२ वर्षअघि पनि पाँचथरको फिदिमै हाडजोर्नी तथा नसा रोगसम्बन्धी शिविर सञ्चालन गरेको स्मरण गर्दै निर्देशक डा भण्डारीले स्रोतसाधनले भ्याएसम्म देशव्यापी रुपमा यस किसिमको शिविर सञ्चालन गरी विरामीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगामी पाँच वर्षसम्म नेपालका दुर्गम तथा विपन्न समुदायमा अर्थोपेडिक स्वास्थ्य सेवा पु¥याउनका लागि रोटरी क्लब अफ ललितपुर, नेपाल अर्थोपेडिक अस्पताल र स्विट्जरल्यान्डका डा डिटमार माउरको समूहबीच समझदारीपत्रमा हस्ताक्षर भएको सो अवसरमा जानकारी गराइयो ।
शिविर सञ्चालनका लागि सहयोग गर्नुभएका डा माउरले आफू हिमाली क्षेत्रको भ्रमणका क्रममा नेपाल आउँदा कमजोर आर्थिक अवस्थाका बिरामीले उपचार गर्न नसकेको जानकारी प्राप्त भएपछि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न थालेको बताउनुभयो ।
शिविरको स्थानीयस्तरमा आयोजना र व्यवस्थापन गरिरहेको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कमजोर आर्थिक अवस्थाकै कारण शरीरमा राखिएका स्टिल निकाल्न नसकेका र हातखुट्टा फर्किएर उपचार गराउन नपाएका विरामीहरुका लागि शिविर फलदायी हुने धारणा व्यक्त गर्नुभयो । दुई वर्षअघि पनि फिदिम नगरपालिकाले हाडजोर्नीसम्बन्धी शिविर सञ्चालन गरेको जानकारी दिँदै नगर प्रमुख काफ्लेले जिल्लामै विशेषज्ञ चिकित्सकहरुको सेवा उपलब्ध नहुँदा शिविरमार्फत सेवा प्रदान गरिँदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij