२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

850
Shares

म्याग्दी-  रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको यस आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।

आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युत्गृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।

आयोजनाको पूर्वाधारतर्फको ठेकेदार कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुई सय जना जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाको लागि आबश्यक पर्ने मेसिन उपकरण ढुवानीको काम धमाधम भइरहेको र विद्युत्गृहमा विद्युतीय मेसिन, उपकरण र सामग्रीको जडान गर्ने काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए।

सुरुङरहित यस आयोजनामा कुल दुई हजार आठ सय मिटर पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुगुरथलामाथि रघुगङ्गा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए। उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ ।

रु तीन अर्ब लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छभने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैँकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ । आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का लिएको भारतीय बिएफएल कम्पनीले समेत मेसिन उपकरण जडान गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij