२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

850
Shares
कर्णाली – कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित  प्रदेश सरकारलाई सुझाव दिएको छ ।
समितिका संयोजक प्रा. डा. कोइरालाले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिने प्रतिवेदन बुझाका छन् । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पसहित अध्ययन प्रतिवेदन तयार पार्न प्रा. डा. कोइरालाको नेतृत्वमा छ सदस्य समिति गठन गरी चार महिना अघि जिम्मेवारी दिएको थियो ।
उक्त कार्यक्रममा संयोजक प्रा. डा. कोइरालाले जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची ४ बमोजिमका विशिष्टिकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुदृढ बनाउन सरोकारवालाको सुझाव तथा समग्र पक्षको अध्ययनले प्रदेश अस्पताललाई प्रदेशको नेतृत्वदायी अस्पताल एवं स्वास्थ्य प्राज्ञिक केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएकाले सोही बमोजिम विकल्पसहित प्रतिवेदन तयारी पारिएको बताए।
उनका अनुसार प्रदेश अस्पतालबाट हालसम्म सञ्चालन हुन नसकेका विशिष्टिकृत सेवाको प्रवाह हुने र यसमा अतिरिक्त आयका स्रोतहरुको पहिचान भई आयस्रोत बढाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
मुख्यमन्त्री कँडेलले कर्णालीवासीका निम्ति एक्लै गर्न नसकिने कामलाई सबैबाट राय सल्लाह लिएर दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले तथ्य र तथ्याङ्कसहित विज्ञहरुको प्रतिवेदन खोजिएको बताए । उनले भने, “हामीले प्रतिवेदन ग्रहण गरेका छौँ । अब समितिले दिएको सुझावका आधारमा अगाडि बढ्छौँ । प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई राष्ट्रियस्तरमा उकास्न स्वास्थ्य क्षेत्रको सुधार कार्यका निम्ति प्रतिवेदनलाई आधार मानेर सरकारले अगाडि बढ्छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij