काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उहाँले बताए ।
उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए। मृत्युको कारण भने नखुलेको पनि उनले बताए । यस्तै तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा आजै मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ । उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आज आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ ।