२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राहुघाट जलविद्युत आयोजनको बाँध पहिरोको जोखिममा

राहुघाट जलविद्युत आयोजनको बाँध पहिरोको जोखिममा

560
Shares

काठमाडौं –नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुगेको बाँध पहिराको जोखिममा परेको हो।

दग्नाम गाउँको फेदीमा सिर्जना भएको नयाँ पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ।

गत वर्षको बर्खामा सोही पहिरोबाट आएको गेगर निर्माणाधीन बाँधमा थुप्रिएर क्षति पुगेको थियो। पहिरो माथि रहेको दग्नाम गाउँ र फेदीको बाँधलाई जोखिम बनाएको छ। आयोजनाका प्रमुख राजबहादुर विष्टले पहिराको नियन्त्रणका लागि अध्ययन थालिएको बताए।

‘बाँधको ठीकमाथि नयाँ सिर्जना पहिराले पार्न सक्ने क्षतिको आकलन गरेर नियन्त्रणका लागि अध्ययन थालिएको छ,’ उनले भने, ‘प्राविधिक टोलीको अध्ययन प्रतिवेदन र सुझावको पर्खाइमा छौं।’

सत्र मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँधसँगै राहुघाट नदीको दायाँ किनारमा डिसेन्डर (पानी थिग्राउने) पोखरी निर्माणाधीन छन्। बाँध, डिसेन्टर र इनलेट (सुरुङको प्रवेशविन्दु) को ठीक करिब तीन सय मिटरमाथि पहिरो सिर्जना भएको हो।

यसैबीच आयोजनाको हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ। सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ, विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ।

आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिइएको आयोजनाको सिभिल महाशाखाका प्रमुख रविन कट्टेलले बताए।

‘बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरुङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ,’ उनले भने, ‘डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरुङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ।’

मुख्य सुरुङको चार वटा अडिटबाट लाइनिङ (ढलान र पलास्टर) भइरहेको छ। रघुगङ्गा–३ गतिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ। इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इक्युभमेन्ट (भेल)ले विद्युत् गृहमा टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम गरिरहेको छ।

विद्युत् गृह परिसरमा एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्वीचयार्ड निर्माण थालिएको छ। स्वीचयार्डका उपकरणले विद्युत् गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रशारण लाइनमा आपूर्ति गराउँछ।

विद्युत् गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ।

राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रशारण लाइन (डबल सर्किट) मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ। चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ।

आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिराका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो।

पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो। पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij