काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन रहेको छ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार फागुन २९ गते, मंगलबारसम्ममा लघुवित्तको एफपीओमा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन परिसकेको छ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij