२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

795
Shares

वीरगञ्ज (पर्सा)। भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही-भरवलिया-८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल-भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत निर्माणाधीन पुल सञ्चालनमा ल्याइएको हो ।

भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीना र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे ।

भारत सरकारले सो पुल निर्माणका लागि रु एक करोड ९६ लाख खर्चेर निर्माण सम्पन्न गराएको हो । महावाणिज्यदूत मीनाले नवनिर्मित आरसिसी पुलले अब भलुही–भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरपालिकासँग सिधा सम्पर्क गर्न सहज हुने बताए ।

“पुल निर्माण भएसँगै स्थानीयवासीको जीविकोपार्जन र यातायातको सहज पहुँच सृजना भएको छ”, उनले भने, “यहाँका स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर पुल निर्माण गरेका हौँ ।”

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले पुल बनेसँगै यहाँको जनताको जनजीवनमा थप सहजता प्रदान गर्ने बताए । “पहिला पुल नहुँदा र अहिले पुल बनेपछि यहाँका जनताको आर्थिक र सामाजिकलगायत गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ”, उनले भने, “सडक र पुलजस्ता पूर्वाधारले अन्य गतिविधिलाई समेत चलायमान बनाउने गर्छ ।”

महावाणिज्य दूतावासले नवनिर्मित आरसिसी पुलले अब भलुही–भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरसँग सोझो सम्पर्क गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

सन् २००३ देखि भारतले नेपालमा पाँच सय ६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउँदै आइरहेको छ । नेपालका सातै प्रदेशको तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताको निर्माणका क्षेत्रमा चार सय ९३ परियोजना पूरा गरिसकेको छ ।

यीमध्ये भारत सरकारले भारतको महावाणिज्य दूतावास, वीरगञ्जको क्षेत्राधिकारअन्तर्गत ७४ वटा कार्यक्रम स्वीकृत गरेको छ । तीमध्ये ५६ वटा हालसम्म पूरा भइसकेका छन् । यीमध्ये तीन वटा बारामा छन् ।

भारत सरकारले वाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत विभिन्न संस्थालाई एक सय ९७ एम्बुलेन्स र ३८ स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । यीमध्ये भारत सरकारले बाराका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १३ एम्बुलेन्स र चार स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ ।

महावाणिज्यदूत मीनाले भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेकाले पनि भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताए । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकासजस्ता प्राथमिकता क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रयासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij