काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्ने बताउनुभएको छ । कलङ्कीस्थित कश्यप एकेडेमीको पहिलो वार्षिकोत्सवका अवसरमा उहाँले बालअधिकारका आधारभूत विषय शिक्षा स्वास्थ्यमा सबै बालबालिकाले समान अवसर र अधिकार पाउनुपर्ने बताउनुभयो । सबै बालबालिकालाई समान अवसर र अधिकार उपलब्ध गराउन संवैधानिक व्यवस्था गरिएको भएपनि परम्परागत मूल्य मान्यताका कारण सामाजिक परिवेशमा लैङ्गिक विभेद अन्त्य हुन नसकेको उहाँको भनाइ छ । विभिन्न बालबालिकामा फरक क्षमता र प्रतिभा हुने भएकाले उनीहरूलाई विद्यालयले संस्कारसहितका गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुदमा सहभागी गराउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले विद्यार्थीका जिज्ञासा र चासोलाई पूरा गर्न अभिभावक, परिवारका सदस्य र विद्यालयले सकारात्मक रूपमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले समुन्नत मुलुक निर्माणका लागि गुणस्तरीय शिक्षा अनिवार्य र अपरिहार्य आवश्यकता भएको विचार व्यक्त गर्नुभयो । एकेडेमीका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले आफ्नो संस्थाले आधुनिक गुणस्तरीय शिक्षा उपलब्ध गराउन विज्ञान–प्रविधि, योग, आध्यात्मिकता र उद्यमशीलतामा जोड दिएको जानकारी दिनुभयो । विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको सो कार्यक्रममा सामाजिक विकासमा योगदान पुर्याइएका १० जना शिक्षासेवीलाई सम्मान गरिएको थियो । —