२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ताप्लेजुङको आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

ताप्लेजुङको आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

600
Shares

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन ।

नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिए । यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ रु दश हजारदेखि २५ हजारसम्म पर्ने उनले बताए।

उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ रु १५ हजारदेखि ४५ हजारसम्ममा खरिद बिक्री गरेको छ । यो अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएको कारण स्थानीय उत्पादनकर्तालाई राम्रो मुनाफा हुने गर्दछ ।

यसरी चीनमा निर्यात हुने गलैँचा ओलाङचुगोलामा रहेका उद्यमी र हस्तकलाकारको आर्थिक समृद्धिका लागि ठूलो अवसरको रूपमा प्रस्तुत भएको छ । नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ । स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ । निर्यातका अवसरले ओलाङचुगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij