काठमाडौं – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर भएको छ। पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले अनुसन्धान गर्दा विभिन्न ठाउँमा गरेको खर्च र लगानी कुल २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ थियो। त्यस्तै १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन भएको देखिएको हो। कुल खर्च तथा लगानी र आयआर्जन घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो कायम गरी अख्तियारले आयआर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना तिराएर उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ।
त्यस्तै उनले झुट्टा विवरण दिएको भन्दै एक महिनादेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरेको छ। नगर प्रमुख सार्वजनिक पदमा बसेर कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसार थप तीन वर्षसम्म कैद सजाय माग गरेको छ। दफा ४७ अनुसार सम्पत्ति जफत गर्न पनि माग गरेको छ।
सम्पत्ति जफतकै लागि उनकी श्रीमती उर्मिला बस्नेतलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरुको विवाहको भोजमा गैरकानुन रुपमा खर्च गरेको अख्तियारको दाबी छ ।
नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij