काठमाडौं – महिन्द्रा मोटर्सले एसयुभी एक्सइभी–९ई टप स्पेकको मूल्य सार्वजनिक गरेको छ। गत नोभेम्बरमा सार्वजनिक गरिएको यो गाडीको मूल्य डेढ महिनापछि तोकिएको हो। भारतीय बजारमा गाडी बिक्री भने आगामी महिना मात्रै खुला गर्ने जनाइएको छ। हालको लागि यो गाडीको मूल्य ३० लाख ५० हजार भारु तोकिएको छ।
यसको बुकिङ भने फेब्रुअरी १४बाट खुला गर्ने र डेलिभरी भने मार्चमा मात्रै गर्न सकिने कम्पनीले जनाएको छ। महिन्द्राले हालै विद्युतीय सवारी साधनको नयाँ श्रेणी अन्तर्गत ‘एक्सइभी ९ई’ र ‘बिई ६ ई’ गाडी सार्वजनिक गरेको थियो। तर, इन्डिगोको ६ई नामसँग कानुनी विवाद परेपछि महेन्द्राले यो गाडीको नाम परिवर्तन गरेको छ। यसअघि ‘बिई ६ई’ राखिएको गाडीको नाम परिवर्तन गरी ‘बिई ६’ मात्रै राखिएको छ। महिन्द्राको इंग्लो प्लेटफर्ममा आधारित एक्सइभी–९ई ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुने जनाएको छ।
जसमध्ये सानो ब्याट्री प्याकले २२८ बिएचपी पावर तथा ३८० एनएम टर्क र ठूलो ब्याट्रीले २८२ बिएचपी पावर एवं ३८० एनएम टर्क जेनेरेट गर्छ।
यो नयाँ एसयुभीले अधिकतम प्रतिघन्टा सय किलोमिटरको स्पिड ६.७ सेकेन्डको गतिमा पूरा गर्नेछ। साथै यसको ७९ किलोवाट आवर ब्याट्री प्याकले ६५६ किमी रेन्ज दिने दाबी गरिएको छ।
यसलाई १७५ किलोवाटको डिसी फास्ट चार्जर प्रयोग गरेर २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने उल्लेख गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij