काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेको पुस ६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । जस अनुसार नेप्सेले ७५ करोड रुपैयाँ लाभांश वितरण गर्नेछ ।
उक्त प्रस्तावित लाभांश पारित गर्न नेप्सेले पुस २९ गते, सोमबार, आफ्नो कार्यालयमा ४३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा विहान ११ बजे सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, आय व्यय, अन्य आय विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण नगद प्रवाह विवरण र सो सम्बन्धी भएको अन्य अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०८१-८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने जनाएको छ । नेप्सेका सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, प्रभु बैंक र अन्य रहेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij