२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा जिआइसीका अध्यक्ष कयाल जोर्डनको अवैतनिक वाणिज्य दूत नियुक्त

सानिमा जिआइसीका अध्यक्ष कयाल जोर्डनको अवैतनिक वाणिज्य दूत नियुक्त

355
Shares

काठमाडौं – सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडका अध्यक्ष कुनाल कयाल मध्यपूर्वी राष्ट्र, जोर्डनको नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त भएका छन् ।

कयाल ग्रुपका निर्देशक समेत रहेका कुनाललाई शुक्रबार उक्त पदमा नियुक्त गरिएको हो । अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएपछि उनले द्विपक्षीय व्यापार तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजशाही रहेको जोर्डन अरबी मुलुकमध्येको एक हो । यो देश नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको गन्तव्य पनि हो। जोर्डनबाट नेपालले मुख्यरूपमा रासायनिक मलको आयात गर्दै आएको छ। यसैगरी नेपालबाट हस्तकला सामाग्री, धागो, औषधी लगायतका वस्तु निर्यात हुँदै आएको छ।

कुनाल नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) को कोषाध्यक्ष समेत हुन् । उनी विगत डेढ दशकदेखि कयाल समूहको निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सन् २००६ मा सहायक लेखा परीक्षकका रूपमा पेशागत यात्रा शुरू गरेका कयाल जलविद्युत उर्जा उत्पादक सिल्क पावर कम्पनीका निर्देशकसमेत हुन् । काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजबाट बीबीए स्नातक गरेका उनले सन् २००९ मा भारतबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका थिए। उनी कर्पोरेट डेपलपमेण्ट बैंकको अध्यक्ष समेत रही सकेका छन् ।

वीरगञ्जमा मुख्यालय रहेको कयाल ग्रुपले विशेषगरी निर्माण सामाग्री उत्पादन र बिक्री गर्दै आएको छ। यस समूह अन्तर्गत नारायणी इस्पात,नारायणी रोलिङ मिल्स, श्रीकृष्ण स्टिल, नारायणी स्टिल, आरती सिमेण्ट रहेको छ। यसैगरी बिक्की हार्डवेयरमार्फत देशभर निर्माण सामाग्री बिक्री वितरण समेत गर्दे आएको छ।

यो समूह सानिमा जीआईसी, सन नेपाल लाइफ र सन लाइफ क्यापिटलको मुख्य प्रवर्द्धक समेत हो । मनोरञ्जन र पर्यटन क्षेत्रमा समेत यो समूहले लगानी बिस्तार गरेको छ। यो समूह अन्तर्गत हालै वीरगञ्जको आदर्श नगरमा चार तारे स्तरको सुविधा सम्पन्न होटल सहित स्काइ मल सञ्चालनमा आएको छ। यसअघि नै कयाल समूहले सिमरा विमानस्थल नजिकै होटल क्लासिक प्लाजा सञ्चालन गर्दै आएको छ। यसबाहेक वीरगञ्जनमा नारायणी सेन्ट्रल अस्पताल समेत यो समूह अन्तर्गतको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij