काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल थप ३वटा उद्योगले नेपाल विद्युत् प्राधिकरणमा बुझाएका छन् । प्राधिकरणका अनुसार भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले पूरै बक्यौता तिरेको छ । यसको नाममा २ लाख ५ हजार बक्यौता थियो ।
त्यसैगरी सर्बोत्तम सिमेन्टले पहिलो किस्ता ३७ लाख रुपैयाँ बुझाएको छ । सिमेन्टको ११ करोड ९६ लाख बक्यौता रहेको छ । अर्को एउटा उद्योगले भने नाम सार्वजनिक नगरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ । योसँगै तीनवटै उद्योगमा लाइन जडान गरिदिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले किस्तामा बक्यौता बुझाउने सुविधा दिएको छ ।
प्राधिकरणले गत बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर महसुल नबुझाएका उद्योगको लाइन काटेको थियो । बक्यौता र किस्ता नबुझाएका २९ उद्योगमा लाइन दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणले पूरै बक्यौता वा किस्ता बुझाए मात्रै लाइन जडान गरिदिने अडान राखेको छ ।
विद्युत् बक्यौता तिर्न सुरु गरेका उद्योगको संख्या ११ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij