काठमाडौं – नेपाल धितोपत्र बोर्डले “मुक्तिनाथ म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने सामुहिक लगानी कोष योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई जारी गर्न स्वीकृती प्रदान गरेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबर्दक रहेको यो योजना मुक्तिनाथ क्यापिटलले संचालन गर्ने छ ।
यस योजनाको आकार १ अर्बको रहेको छ । धितोपत्र बोर्डले प्रति इकाई अंकित मूल्य रु.१०/– दरको १० करोड इकाईले हुन आउने कुल रु.१ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृती प्रदान गरेको हो । कुल योजनाको आकार मध्ये रु.१५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु.८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन गरिनेछ ।
योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य मुक्तिनाथ क्यापिटलले नै गर्नेछ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष रहेको छ ।
१० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी योजना रहेको छ । इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्घारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामुहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुयाउने उद्देश्यले योजना संचालन गर्न लागेको जनाएको छ । निष्काशन सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।
साथै, कोष प्रवद्र्घक मुक्तिनाथ विकास बैंक लिमिटेडले केयर एनपी थ्रि बी (आईएस)को रेटिङ पाएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आईआरएन एएमसी क्वालिटी थ्रीको रेटिङ पाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij