काठमाडौं – ८ राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशत बढेको छ।
तीन महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकले डेढ अर्ब नाफा कमाएका हुन् । समिक्षा अवधिमा बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २९.०७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले १ अर्ब १० करोड ७५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका थिए ।
पहिलो त्रैमासमा सर्वाधिक नाफा वृद्धि गर्नेको पहिलो सूचीमा ज्योति विकास बैंक छ । यस अवधिमा ज्योति विकास बैंकको नाफा १९७.६१ प्रतिशत बढेको छ। यो सर्वाधिक नाफा कमाउनेमा पर्दछ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ११ लाख रुपैयाँ यस्तो नाफा कमाएको छ।
समिक्षा अवधिमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा भने २३.१७ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै धेरे नाफा कमाउने दोस्रो विकास बैंकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
यस्तै गरिमा विकास बैंकको नाफा १२ प्रतिशतले बढेर २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंकको नाफा १६.५६ प्रतिशतले बढेर २० करोड १९ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकको नाफा १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढेर ६ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा महालक्ष्मी विकास बैंकको मात्रै नाफा घटेको छ । समिक्षा अवधिमा महालक्ष्मी विकास बाहेकका सबै बैंकहरुले नाफा बढाएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij