२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड,अन्य सुचकको अवस्था कस्तो?

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड,अन्य सुचकको अवस्था कस्तो?

1.1K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी वितरणयोग्य मुनाफा कमाएको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ६.२३ प्रतिशत र कर्जा तथा सापटी ८.९४ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij