काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्षको दुई महिना भदौसम्म सवा ४ अर्ब रुपैयाँको बराबर शेयर थपिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिसम्म नेप्सेमा रु. २ अर्ब ५४ करोड बराबरको बोनस शेयर, रु. १ अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.४ अर्ब २६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
तथ्यांकअनुसार २०८० भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकांक २०८१ भदौ मसान्तमा २५८०.७६ कायम भएको छ। २०८१ भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४१ खर्ब ३ अर्ब ६२ करोड कायम भएको छ। २०८० भदौ मसान्तमा बजार पुँजीकरण रु.२९ खर्ब ६१ अर्ब ३४ करोड रहेको थियो।
२०८१ भदौ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० भदौमा सूचीकृत कम्पनीको संख्या २५५ रहेको थियो।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ।
तथ्यांकअनुसार नेप्सेमा २०८१ भदौ मसान्तमा सूचीकृत ८ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य रु.८ खर्ब २८ अर्ब २४ करोड रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij