काठमाडौं –काठमाडौं । अमेरिकाले २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खोलेको छ । आज २ अक्टोबर राति ९ः४५ बजेदेखि भर्न सकिने गरी डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन खुलाइएको जानकारी नेपाल स्थित अमेरिकी राजदूतावासले दिएको हो । आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डिभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ ।
दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। “अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत सल्लाह दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासले भनेको छ ।
डिभीको लागि फारम अनलाइन भर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ।
एक जना व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन् । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ।
डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ ।
यहाँ क्लिक गरेर डीभीको लागि आवेदन भर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij