काठमाडौं – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशय भरिएको छ। बिहीबार रातिदेखिको अविरल वर्षाले इन्द्रसरोवर नामले चिनिने कुलेखानी बाँधमा पानी भरिएको हो।
शुक्रबार बिहान ९ बजे पानीको सतह १५ सय २५ मिटर रहेकोमा शुक्रबार अपराह्न १५ सय २६.७७ मिटर पुगेको छ। १५ सय ३० मिटर पानीको सतह पुगेपछि पोखिन थाल्छ। त्यसकारण ड्यामको सुरक्षाका लागि आज राति वा भोलिसम्म ढोका खोलेर पानी पठाउने तयारी रहेको कुलेखानीस्थित विद्युत आयोजनाले जनाएको छ।
गृह मन्त्रालय विपद् महाशाखा प्रमुख तथा विपद् कमाण्ड पोष्टका संयोजक डा. भीष्मकुमार भुषालका अनुसार केही घण्टामै बाँध भरिने स्थिति देखिएको र बाँधको सुरक्षाका लागि पनि ढोका खोल्नुपर्ने अवस्था देखिएको छ।
बाँधको ढोका खोल्दा कुलेखानी तल्लो तटीय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन संयोजक डा. भुषालले आग्रह गरेका छन्। उनले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको जानकारी पनि गराएका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij