काठमाडौं – एनसेल फाउन्डेसनले पारा ओलम्पिक्समा देशको लागि अहिले सम्मकै ठुलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारा ओलम्पिक्स कमिटी (एनपीसी) नेपालको २५औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।
पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले रु ३ लाख नगद पुरस्कार प्राप्त गर्दा तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल, र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठहरुलाई जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
“यो सम्मानले हामी पारा खेलाडीहरुको हौसला बढाएको र अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य रहेको छ । एनपिसिसँगको सहकार्यमा हाम्रो ओझेलमा परेको पारा खेलकुदको विकासमा योगदान पुर्याई दिनु भएकोमा एनसेलप्रति आभारी छु,” पलेशाले भनिन् ।
पारा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपिसिका अध्यक्ष राधा घले र एनसेल कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij