काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरू गरेको छ। यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरूले पाँच लाखसम्मको कर्जा एनआइएमबी स्मार्ट एपमार्फत बिना धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन्।
बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको छ।यसमा ग्राहकहरूले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्। साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ।
ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट एप मार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआइएमबी स्मार्टलोनमा रजिष्टर गर्न सक्नेछन्। एनआइएमबी स्मार्ट लोनको लागि योग्य हुन तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण लगायतका बैंकले तोकेका विभिन्न मापदण्डहरू पुरा गर्नुपर्ने बैंकको भनाइ छ।
योग्य ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआइएमबी स्मार्टलोन एप्लाइ गरी कर्जाका सबै सुविधाहरू र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij