२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा पहिलो पटक हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन सञ्चालन

नेपालमा पहिलो पटक हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन सञ्चालन

320
Shares

काठमाडौं काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

विश्वविद्यालयको २९औं दीक्षान्तअघि शुक्रबार हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो । कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो ।

प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए । उनले विश्वविद्यालयले सञ्चालन गरेको ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसन निकै अनुकरणीय कार्य भएको भन्दै अरूले पनि यस्तो कार्य गर्नुपर्ने बताए ।

‘२०१८-१९मा म प्रधानमन्त्री भएका बेलामा ग्रिन हाइड्रोजन, हावाबाट बिजुली निकाल्ने लगायत विषयको कल्पना तथा अध्ययन गरेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले त्यति बेला बोलेको कुरा आज काठमाडौं विश्वविद्यालयले सुरु गरेको छ, निकै नै राम्रो कामको सुरुवात भएको छ, काठमाडौं विश्वविद्यालय सँगसँगै अब अरूले पनि यस प्रकारका कार्य गर्न अघि सर्नुपर्छ ।’

यस्तै, विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं एसोसिएट प्रोफेसर विराजसिंह थापाले विश्वविद्यालयको ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसनले सफलतापूर्वक परीक्षण सम्पन्न गरी हाइड्रोजन कारमा रिफिल गर्न थालेको छ ।

नेपालमा उत्पादित बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजन रिफ्युलिङ स्टेसनमा हाइड्रोजनमा परिणत गरिएको थापाले जानकारी दिए । जलविद्युत्, सोलारलगायत ऊर्जाहरू नेपालमा धरै रहेको र यसलाई प्रयोग तथा प्रशोधन गरेर हाइड्रोजन रिफ्युलिङ स्टेसन तथा हाइड्रोजन कार तयार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij