२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागमती प्रदेशले ल्यायो एक अर्ब ८४ करोडको बजेट

बागमती प्रदेशले ल्यायो एक अर्ब ८४ करोडको बजेट

1.3K
Shares

काठमाडौं– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोडभन्दा बढीको बजेट ल्याएको छ।

चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने अनुमान गरिरहेका बेला शनिबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट प्रस्तुत गरे। जबकी चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरिएको थियो।

कूल विनियोजितमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ६३ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको खर्च ब्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालू आर्थिक वर्ष २०८०/८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार ब्यहोरिने अनुमान बजेटमा गरिएको छ।

प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका लागि २२ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको छ। यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ६ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताए।

कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रूपमा अगाडि बढाउने घोषणासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि दुई अर्ब ६२ करोड विनियोजन गरिएको छ। प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले सभालाई जानकारी गराए।

उपेक्षित, उत्पीडित तथा अतिसिमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड बजेट छुट्याइएको छ।

यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि दुई अर्ब ४६ करोड, वन तथा वातावरण मन्त्रालयका लागि तीन अर्ब २१ करोड, रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड विनियोजन गरिएको छ।

बजेटमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि १० करोड बजेट विनियोजना गरेको सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४४ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्रका लागि २४ करोड दुई लाख तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ५० करोड ६४ लाख बजेट विनियोजन गरिएको छ।

प्रदेशका सामुदायिक विद्यालयमा सञ्चालित एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि चार अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij