काठमाडौं– अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा ९५ अर्ब बढी रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्याथी अध्ययनका लागि विदेशी जादा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।
गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोहि अवधिमा यसरी अध्ययन अन्तर्गत बाहिरिने रकम ४२.६५ प्रतिशतले बढेको छ । गत आवको चैतसम्म ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो ।
शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ । यस वर्ष ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् ।
यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij