काठमाडौं– अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले १ : १ को अनुपातमा हकप्रद शेयरहरु बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैशाख १० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था÷ कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।
शेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति शेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँड गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी प्रति शेयर मूल्य कबोल गर्नेलाई बाँडफाड गरिने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij