२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालको विदेशी विनिमय सञ्चिति १८१६ अर्ब पुग्यो

नेपालको विदेशी विनिमय सञ्चिति १८१६ अर्ब पुग्यो

790
Shares

काठमाडौं – नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा रु.१८१६ अर्ब ५७ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई रु.१६०० अर्ब २३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भई रु.२१६ अर्ब ३५ करोड कायम भएको छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij