नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखतीटोलस्थित खत्री गाउँकी एक वृद्धा हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यहि पुस १६ गते ७५ वर्षीया नेत्रकुमारी घर्ती क्षेत्रीको राती अन्दाजी १० बजे घरसँगैको बाख्राको खोरमा मृत अवस्थामा छिमेकिले फेला परेका थिए ।
हत्यामा संलग्न अभियुक्त शिवपुरी ६ साल्मेटार बस्ने २२ वर्षीय सुकु तामाङलाई प्रहरीले बुधबार आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको नुवाकोट प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।
मृतक वृद्धा लामोसमयदेखि घरमा एकल महिलाको रुपमा जीवनयापन गर्दै आईरहेकी थिईन् ।
प्रहरीले आज पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त लागूऔषध दुर्व्यसनी रहेको प्रहरी प्रमुख थापाले जानकारी दिए । अभियुक्तले वृद्धाको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।
प्रहरीले अभियुक्तको बयानबाट नगद ८३ हजार रुपैयाँ, कानमा लगाउने सुनको बेरुवा १ जोडी, सानो तिलहरी १ थान बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को च्यासिङटोलको जङ्गलमा गाडेर राखेको अवस्थामा जफत गरेको छ ।
प्रहरीले बिहीबार जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानको लागि सात दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij