काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले पूँजीको अभाव भएका सिर्जनशिल उद्यमीलाई सुरुवाती लगानी गर्ने भएको छ ।
डिष्ट्रिक्ट ३२५ जे को महत्वकांक्षी योजना अन्तर्गत खडा भएको ब्रेभ स्टार्टअप फण्ड (Brave Startup Fund) को रकमबाट स्वदेशमै केहि गर्न चाहने, दिर्घकालीन योजना भएर पनि रकम अभाव भएका उद्यमीलाई सहयोग गर्ने भएको हो । यसका लागि इच्छुकले एउटा फाराम भरेर डिष्ट्रिक्ट ३२५ जे मा इमेलबाट बुझाउनुपर्नेछ ।
आफुले गर्न चाहेको उद्यम, स्थानको बारेमा विस्तृत योजना सहितको विवरण र अन्य फाराममा उपलब्ध विवरणहरु इच्छुकले भर्नु पर्नेछ । यसरी प्राप्त आईडियाको अध्ययन गरी पहिलो चरणको छनौट गरिनेछ । पहिलो चरणमा छनौट गरिएका बिजनेस आईडियाका निवेदनकर्ताले आईडिया स्टुडियो र लायन्स क्लबका प्रतिनिधिहरुको बिचमा व्यवसायको बारेमा प्रस्तुतीकरण गर्नुपर्नेछ । यसका लागि आईडिया स्टुडियोले तालिम समेत प्रदान गर्नेछ ।
यसपछि छनौट भएका उद्यमलाई लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले ‘सिड मनी’ का रुपमा लगानी गर्नेछ । प्रत्येक उद्यमलाई २ लाख रुपैयाँ लगानी गर्ने डिष्ट्रिक्ट ३२५ जे ले लक्ष्य राखेको छ । आवश्यकता अनुसार यो रकम वृद्धि समेत हुन सक्नेछ ।
यस वर्षबाट सुरुवात गरिएको ब्रेभ स्टार्टअप फण्डबाट यो वर्ष ७ देखि १० जना उद्यमीलाई लगानी गरिने डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन हरिप्रसाद मरहट्टाले जानकारी दिए ।
यो अवसरको सदुपयोग देशभरका सबै जिल्लाका नयाँ सोच भएका उद्यमीहरुले गर्न सक्ने र पहिलो प्राथमिकता भने डिष्ट्रिक्ट ३२५ जे को कार्यक्षेत्र भएका जिल्लाहरुलाई दिने ब्रेभ स्टार्टअप फण्डको कोअर्डिनेर तथा डिष्ट्रिक्ट को चिफ एडभाईजर लायन देवी गुरुङले बताइन् ।
Form Link : https://docs.google.com/forms/d/e/1FAIpQLSe1dHYeJ_sCrm9xKxlXIK2k0o99IJ_iutb-cRukAYvqKklyEQ/viewform?pli=1
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij