२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

920
Shares

काठमाडौं -भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले आज ९३ करोड रूपैयाँ पठाएका छौं। प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौं।’

उनले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिए। यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए।

पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो। गत कात्तिक २७ मा मन्त्रिपरिषदले १० अर्ब रूपैयाँ पठाउने निर्णय गरेको थियो। सोहीअन्तर्गत अर्थले एक अर्ब भूकम्पपीडितका लागि निकासा गरेको हो।

निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रूकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको उनले जानकारी दिए। यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रूपैयाँ पठाइसकेको छ। यसबाट ती जिल्लामा आवास निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij