काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नियामक निकायहरुको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए ।
उनले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने जिकिर गरे । बजारमा कुनैपनि कुराहरू सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताए ।
हमालले स्ट्यान्डर्ड रिपोर्टिङ माघबाट नै लागू गर्ने बताएका छन् । ‘लक इन पिरियडका सम्बन्धमा बोर्डले राम्रो गरेको छ । यसले लगानीकर्ताहरुलाई सहज हुने भएको छ । लगानीकर्तालाई सहज हुने गरी पूँजी बजार क्षेत्रमा काम गर्नुपर्छ भन्न हाम्रो प्रयास रहँदै आएको छ’, उनले भने।
आफ्नो कार्यकालका उपलब्धी उल्लेख गर्दै उनले भने, ‘मेरो अन्तिम कार्य दिनसम्म पनि मैले बजारलाई राम्रो हुने ढङगले काम गर्नेछु । मैले बोर्डमा प्रवेश गर्दा गरेको कार्य योजना अनुरुप नै मैले काम सम्पादन गर्दै आइरहेको छु । बजारमा लगानीकर्ताहरुलाई राम्रो हुने नीति लिएर काम गर्न सकियो भने मात्रै बजारले गति लिन्छ ।’
‘धितोपत्र बोर्डले जे नीति लिएको छ । त्यो देशको आर्थिक विकासमा टेवा पुग्ने हेतुले नै गरेको हुन्छ । यसमा लगानीकर्ता ढुक्क भए हुन्छ । बोर्डले जहिले पनि आम लगानीकर्ताको हितका लागि नै कार्य गरेको हुन्छ’, हमालले भने, ‘बजारलाई खुला छोड्नुपर्छ उनले भने सरकारको कडा नीतिले बजार फस्टाउन सक्दैन ।’ आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरू राख्नुपर्ने उनको भनाइ छ । अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरू केन्द्रित हुनुपर्ने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij