२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संगीतकार एंव साहित्यकार सन्तोष श्रेष्ठ सम्मानित

संगीतकार एंव साहित्यकार सन्तोष श्रेष्ठ सम्मानित

2.1K
Shares

लमही – देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले आफ्नो १३औँ वार्षिकोत्सव समारोहका अवसरमा कृतिमानी संगीतकार एंव साहित्यकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार दाङको देउखुरीस्थित लामहीमा मञ्चले आयोजना गरेको कार्यक्रममा संगीतकार श्रेष्ठलाई ‘पाठक कला संगीत सम्मान– २०७९ बाट सम्मान गरेको हो ।

नेपालको सांगीतिक पृष्ठिभूमिभित्र गीत, संगीत र साहित्यलाई थप उचाइँमा पुर्‍याउनका लागि अनवरत रुपमा गायक तथा संगीतको क्षेत्रमा कार्यरत रहँदै आएको भन्दै मञ्चले श्रेष्ठलाई सम्मान गरेको जनाएको छ । संगीतकार श्रेष्ठ दाङको घोराही उप–महानगरपालिकाको हापुर निवासी हुन् । सांगीतिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएका श्रेष्ठले सयौँ गीतहरूमा संगीत दिएका छन् ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले स्थापना गरेको ‘खिमानन्द केशरा साहित्य पुरस्कार’बाट शेरबहादुर चौधरी र शेरबहादुर चौधरीले स्थापना गरेको ‘ठागुरामपति साहित्य पुरस्कार’बाट गीतकार के. डी. शर्मालाई सम्मान गरिएको मञ्चका सचिव केशव शर्मा घिमिरेले जानकारी दिए ।
यसैगरी ‘अग्रज स्रष्टा सम्मान’ बाट ७५ वर्षीया दुर्गादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो । यसैगरी शेषमणि शर्मा घिमिरे/कृष्णा शर्मा संस्थापक रहेको ‘बाल प्रतिभा पुरस्कार’ बाट शान्ति गुप्ता (आदर्श नमूना मावि लालमटिया), अनिता सुन्दास (शंकर मावि पिपरी) र मनिष के.सी.(मा.वि. फल्कापुर) लाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा तीन स्रष्टाका तीन कृति पनि लोकार्पण गरिएको थियो । शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’, जागेश्वर शर्मा घिमिरेको ‘देउखुरीमा बाछिटा’ र दुर्गादेवी अधिकारीको ‘आमाको वेदना’ (गीति काव्यको दोस्रो संस्करण) लोकार्पण गरिएको सचिव केशव शर्मा घिमिरेले जानकारी दिए ।

मञ्चका अध्यक्ष हरि पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछाने, लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्म प्रसाद शर्मा राप्ती साहित्य परिषदका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, कवि तथा गीतकार गणेश विषम, नारायण नेपाल, चारु साहित्य तथा संस्कृति प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर लगायतको उपस्थिति थियो । कार्यक्रममा कवि तथा श्रष्टाहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।

सोही अवसरमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवनको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले उदघाटनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij