काठमाडौँ – हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरू गरेको छ। हप्तामा दुई पटक उडान सेवा विस्तार गर्ने एयरलाइन्सको योजना रहेको बताइएको छ।
पहिलो आउटबाउन्ड उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा प्रस्थान गरेको थियो र सांघाइकोे सांघाई पुडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ४ः३१ बजे अवतरण गर्नेछ। यस उडानको अवधि ४ घण्टा ७ मिनेटको रहनेछ। पहिलो उडानमा कूल यात्रु संख्या एक सय अठतिस रहेको थियो।
डिसेम्बर २ पछि सुरूमा हरेक शनिबार मात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २०, २०२३ देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुई पटक उडान सेवा विस्तार गर्ने एयरलाइन्सको योजना छ।
यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो तेस्रो सिधा उडान सेवा हुनेछ। एयरलाइन्सले यसअघि नै बेइजिङ र छिन्ताओमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।
उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सी यु प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij