२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

915
Shares

काठमाडौं– प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो।

सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो। ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ।

विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको, प्रतिस्पर्धी बैंककाबीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्य सम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।

बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन्। अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सिइओ, सिएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो।

बैंकले हाल ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएममार्फत् देशव्यापी रूपमा ३१ लाखभन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij