काठमाडौं– सर्वसाधारणका लागि बिहीबारदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij