२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले बढ्यो

एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले बढ्यो

900
Shares

काठमाडौं – एनआईसी एशिया बैंकको नाफा १०.३५ प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि भएको हो ।

गएको वर्षको अन्त्यसम्म यो बैंकले चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो बैंकले खराब कर्जा १ प्रतिशतभन्दा तल राखेको छ । गएको आवको अन्त्यसम्म बैंकको खराब कर्जा ०.८० प्रतिशत कायम छ । अघिल्लो वर्ष यस्तो कर्जा ०.५३ प्रतिशत थियो ।

बैंकले असार मसान्तसम्म १२ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फी तथा कमिसनबाट दुई अर्ब ३२ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले उक्त अवधिमा ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ६२ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्म तीन खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको चुक्त पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा गएको वर्षको अन्त्यसम्म १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ७.९३ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यसम्म यस्तो नाफा तीन अर्ब ६९ करोड ८८ लाख रुपैयाँ छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा तीन अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो । गएको वर्ष लाभांश नदिएको बैंकको यो वर्ष लाभांश क्षमता ३१ रुपैयाँ ९९ पैसा छ ।

बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij