२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ खुल्यो

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ खुल्यो

1.3K
Shares

काठमाडौं– मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

उक्त सेयरका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको कम्पनीले बताएको छ। दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपिओमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ। स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij