काठमाडौं – दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । ६ असारदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ ।
शहीद स्मारक ए डिभिजन लिग सन्चालनमा रहँदा बलिया विपक्षीसँग खेल्नुपर्ने नेपाल टिमले विशेष र एकीकृत तयारी गर्न पाएको छ । राष्ट्रिय टिमका खेलाडी रिलिज गर्न एन्फाले गरेको प्रस्ताव ए डिभिजन क्लबहरुले नमानेपछि २७ जेठमा लिग सकिएपछि मात्र राष्ट्रिय टिमले एकीकृत प्रशिक्षण गर्नेछ ।
नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।
समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij